दशैंमा मासु खाँदा घाटीमा हड्डी अड्किएर २ जनाको मृत्यु
दशैंकाे मासु खाँदा घाँटीमा हड्डी अड्किएर २ जनाकाे निधन भएकाे छ । लमजुङमा मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु भएको हाे ।
मर्स्याङ्दी गाउँपालिका ९ तवैका ४५ वर्षीय शम्सेरबहादुर परियारको घाँटीमा हड्डी अड्किएर मृत्यु भएको हाे ।
अष्टमी (सोमबार) दिउसाे राँगाे काटेर ह्याकुलाकाे चाैटा काँचै खाने क्रममा घाँटीमा अड्किएपछि परियारलाई खुदीस्थित स्थानीय मेडिकलमा लगिएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि उनलाई बेसीसहरस्थित लमजुङ जिल्ला अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएकाे छ । परियारकाे मंगलबार पाेष्टमार्टम गरि अन्त्यष्टी गरिएकाे छ । त्यसैगरी मासु खाँदा घाँटीमा हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु भएको छ ।
कालिका नगरपालिका वडा नं.८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अष्टमी (सोमबार) को साँझ करिब ७:३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किए पछि क्षेत्रीलाई स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई पुरानो मेडिकल कलेज ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।