दशैँमा घर फर्किन बसको टिकट पाउनै मुस्किल
काठमाण्डौ – काठमाण्डौ गोँगबुको नयाँ बसपार्कको टिकट काउन्टरमा आज शनिवार भेटिएका यात्रुहरुले घर जानका लागि बसको टिकट नै नपाएको गुनासो पोखेका छन् ।
पाँच दिन धाउँदा पनि बसको टिकट नपाएको डोटीका हरि बिसीको गुनासो छ । उहाँले बस व्यवसायी र प्रहरीले आफन्तहरुलाई टिकट बाँडने गरेकाले पनि सर्वसाधारणले टिकट पाउने अवस्था नरहेको आरोप लगाउनु भयो ।
त्यस्तै कैलालीका कृष्ण टमाटाले पनि बसको टिकट नपाएका कारण दशैँमा घर जान नै नसकिने अवस्था आएको बताउनु भयो । उहाँले सरकारले टिकटको आवश्यक व्यवस्था नमिलाएर सर्वसाधारणलाई दुःख दिएको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।
केही यात्रुहरु भने टिकट नपाए पनि बसको क्याविनमा बसेर घर जाने तयारी गर्दै थिए । टिकट पाउनै गाह्रो भएकाले क्याविनमा बसेर घर जाने तयारीमा आफू रहेको नेपालगञ्जकी दिलमाया खत्रीले बताउनु भयो । उहाँले बसको टिकट पाउने अवस्था नरहेको र आफूहरुले दुःख पाएको प्रतिक्रिया समेत दिनु भयो ।
बस व्यवसायीहरुले दोब्बर मूल्य भाडा लिएर रिजर्भमा पनि यात्रुहरुलाई ओसार्ने गरेको तर टिकट भने नदिएकोमा यात्रुहरुको चर्को गुनासो छ । उनीहरुले सरकारले दशैँमा घर जानेहरुलाई बसको टिकटको लागि आवश्यक व्यवस्था नमिलाएको आक्रोश समेत व्यक्त गरेका छन् ।