InternationalNews

दसैँमा विदेशबाट घर आउँदै हुनुहुन्छ ? हेर्नुहोस् के – के ल्याउन पाइन्छ

दसैँ, तिहार जस्ता ठूला चाडपर्व नजिकिएसँगै नेपालका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्किने नेपालीहरूको भीडभाड बढ्न थालेको छ ।वैदेशिक रोजगारीमा गएका, अध्ययन र विदेशमै विभिन्न पेशा गरी बस्दै आएका नेपाली दसैँ मनाउन फर्किन थालेका छन् । विदेशबाट फर्किंदा परिवार, आफन्त र साथीभाइलाई उपहार लिएर आउने गर्छन् ।आज हामी विदेश बाट आउँदा कुन कुन सामानमा भन्सार छुट छ र कुन कुन सामानको भन्सार तिर्नु पर्छ यो बारे जानकारी दिनेछौ ।

वैदेशिक रोजगारीमा कम्तीमा एक वर्ष बसेर फर्किंदा ३२ इन्चसम्मको टीभी ल्याउन सक्ने सुविधा अर्थ मन्त्रालयले जारी गरेको ‘झिटीगुन्टा आदेश’ मा उल्लेख छ । तर, रोजगारीका लागि नगएका व्यक्ति र एक वर्ष पूरा नभई फर्किएकाले भने यो छुट पाउँदैनन् । ३२ इन्चभन्दा माथिको टेलिभिजन ल्याए इन्चअनुसार भन्सार तिर्नुपर्ने व्यवस्था छ । त्यस्तै, एकभन्दा बढी टीभी ल्याएमा ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्छ ।

विदेशमा काम गरेर फर्किएकालाई तीन थानसम्म नयाँ मोबाइल सेट र साथैमा रहेको मोबाइल लिएर आउँदा भन्सार छुट छ । तीन थानभन्दा बढी ल्याए बजार भाउअनुसार भन्सार तिर्नुपर्छ ।विदेशबाट फर्किनेका हकमा १ लिटरसम्म रक्सी मात्र ल्याउने सुविधा सरकारले दिएको छ । त्योभन्दा धेरै रक्सी ल्याएमा भन्सार तिर्नुपर्छ । डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र र स्टेथ्स्कोप, खेलाडीले खेलकुदसम्बन्धी सामान, संगीतकर्मीले वाद्यवाधनका सामग्रीलगायतका सामान १/१ थान ल्याउँदा भन्सार छुट हुन्छ ।

यस्तै, औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रूपमा अशक्तहरूको सहाराका लागि ल्याइने सामग्रीमा पनि भन्सारमा पूर्णरूपमा छुट दिइएको छ ।

यसै गरी ल्यापटप, कम्प्युटर वा ट्याबलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर र पेनड्राइभ १/१ थान ल्याउनेका हकमा भन्सार छुटको व्यवस्था छ । बच्चा राख्ने ‘पेराम्बलेटर’ र ‘ट्राइसाइकल’ १/१ थान ल्याउँदा पनि भन्सार छुट हुन्छ । म्युजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा र रेडियो, क्यासेट प्लेयर १/१ थान ल्याउन सकिन्छ । मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २/२ थानसम्म ल्याएमा भन्सार लाग्छ । त्यसका अतिरिक्त सामानमा भने ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्ने व्यवस्था गरिएको छ ।यसैगरी, सात किलोसम्म खाद्यवस्तुमा पनि भन्सार छुट दिइएको छ । बढीमा १० किलोग्रामसम्म खाद्य सामग्री ल्याउन पाइन्छ । तर, यसमा तोकिएको भन्सार शुल्क लिने गरेको छ ।  चुरोट २ सय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म ल्याउँदा पनि समदरमा ४० प्रतिशत भन्सार तिर्नुपर्छ । पछिल्लो समय चुरोट ल्याउन पाइने व्यवस्था खारेज गर्ने सरकारको तयारी छ ।

सुनका गहना ल्याउँदा ५० ग्रामसम्मको भन्सार शुल्क लाग्दैन । ५० देखि १०० ग्रामसम्मको प्रति १० ग्रामको ५ हजार, १०० देखि १५० ग्रामसम्मको प्रति १० ग्रामको ६ हजार २ सय रुपैयाँ, १५० देखि २०० ग्रामसम्मको प्रति १० ग्राम ७ हजार २ सय तथा २०० देखि २५० ग्रामसम्मको प्रति १० ग्राम ९ हजार २ सय रुपैयाँ भन्सार शुल्क तिर्नुपर्ने हन्छ ।१०० ग्राम चाँदी ल्याएमा भन्सार तिर्नुपर्दैन । योभन्दा धेरै बोकेर आएको खण्डमा तोकिएको भन्सार तिर्नुपर्छ ।

Related Articles

Back to top button