News

अब सार्वजनिक स्थलमा धूम्रपान गरे काठमाडौं महानगरले कारबाही गर्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी असोज १ गतेदेखि  सार्वजनिक क्षेत्रभित्र धूमपान निषेध गर्ने भएको छ । महानगरपालिकाले बिहीबार सूचना निकालेर  सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्पा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाउने जनाएको हो ।

सार्वजनिक स्थललाई धूमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग अनुरोधसमेत गरेको छ ।

सूचनामा कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिबाना तिराइनेसमेत उल्लेख छ ।

अन्य समाचार / कास्की – पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने पोखरेली जनताको साढे चार दशकदेखिको सपना अब भने पूरा हुने अवस्थामा छ । सरकारको घोषित कार्यक्रमअनुसार अबको साढे चार महिनामा यस विमानस्थलबाट उडान हुनेछन् ।

घोषित योजनाअनुसार चुनौतीका रूपमा खडा भएका ल्यान्डफिल साइटलगायतका केही काम सम्पन्न भएमा आउँदो सन् २०२३ को जनवरी १ देखि नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुनेछन् । विमानस्थल निर्माणकै लागि २०३४ सालदेखि जग्गा अधिकरण गरे पनि लामो समयसम्म काम अघि बढ्न नसकेकामा चिन्तित पोखरावासी यसको निर्माण थाल्नुपर्ने मागसहित लामो समयसम्म सङ्घर्ष गरेको अभियन्तामध्येका एक विश्वशङ्कर पालिखे बताउनुहुन्छ ।

‘पोखरेलीको लामो समयदेखिको सङ्घर्षको प्रतिफलस्वरूप विमानस्थल सञ्चालनमा आउने अवस्थामा पुग्नु समग्र पोखरेली एवम् गण्डकी प्रदेशका लागि हर्षको विषय हो’, पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेस कास्कीका प्रवक्तासमेत रहेका उहाँले भन्नुभयो, ‘विमानस्थल सञ्चालनमा आउनुपूर्व ल्यान्डफिल साइटको व्यवस्थापनसँगै सयौँ वर्षदेखि यस क्षेत्रमा आवतजावत गरिरहेका चराको व्यवस्थापन गर्नु जरुरी देखिन्छ ।’ नवनिर्मित विमानस्थलको नजिकै रहेको ल्यान्डफिल साइटका कारण चराको गतिविधि निकै रहेको बताउँदै उहाँले ल्यान्डफिल साइट अन्यत्र व्यवस्थापन भए पनि तत्कालै चराका गतिविधि रोक्न सकिने वा नसकिने कुरामा गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

चराका कारणले कुनै दुर्घटना हुन पुग्यो भने त्यसले नकारात्मक असर पार्ने हुँदा बेलैमा त्यसबारे सोचेर अघि बढ्नु जरुरी रहेको उहाँको भनाइ छ । अभियन्ता पालिखेका अनुसार विमानस्थलको निर्माणका लागि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले २०६८ चैत ११ गते विज्ञप्ति प्रकाशन गर्दै सङ्घर्षका कार्यक्रम सुरु गरेकामा चैत १७ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रधानमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्री, सार्वजनिक लेखा समिति, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई पत्राचार गरेको थियो । त्यसयता समयसमयमा विज्ञप्ति, भेला, सरोकारवालाको ध्यानाकर्षण गरेकामा २०६९ सालको दसैँ, तिहारजस्ता चाडपर्वमा समेत एक सय ५३ शृङ्खलासम्म दुई हजार चार सय दुई जनाद्वारा रिले अनशन गरिएको थियो । विमानस्थल निर्माणका लागि पोखरेली जनताको लामो सङ्घर्षको इतिहास जोडिएको पालिखेले बताउनुभयो ।

चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते शिलान्यास गर्नुभएको थियो । निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सीएमसीईले पाएको थियो । चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा झन्डै २२ अर्ब रुपैयाँको लागतमा विमानस्थलको निर्माण भएको हो । विमानस्थल झन्डै तीन हजार सात सय रोपनी क्षेत्रफलमा निर्माण भएको छ ।

विमानस्थल सञ्चालनका लागि तयार भइसकेको र ल्यान्डफिल साइटको व्यवस्थापन र रिठ्ठेपानीको डाँडा कटानको काम बाँकी रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानलस्थल निर्माण आयोजनाका प्रमुख विनेस मुनकर्मीले जानकारी दिनुभयो । उहाँका अनुसार डाँडा कटानको काम आउँदो अक्टोबरभित्र नै सकिनेछ ।

विमानस्थलमा न्यारोबडी एअर बस तीन सय २० र बोइङ सात सय ३५ जहाज उडान र अवतरण गर्न सकिन्छ जुन दुई सय सिटभन्दा कम क्षमताका हुन् । यस विमानस्थलमा तीन ठूला र आठ साना गरी ११ वटा जहाज पार्किङ क्षमता रहेको छ । धावन मार्ग दुई हजार पाँच सय मिटरको रहेको विमानस्थलको चौडाइ ४५ मिटर छ । विमानस्थलमा १४ वटा आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेका छन् ।

विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न भएपछि गएको चैतमा चिनियाँ निर्माण कम्पनीले महत्त्वपूर्ण पूर्वाधार सकिएको भन्दै नेपाललाई हस्तान्तरण गरेको थियो । विमानस्थलको मुख्य भवनसँगै १४ भवनको निर्माण र सजावट गरिसकिएको छ । त्यस्तै आन्तरिक र बाह्य टर्मिनल भवन, धावनमार्ग, एअर ट्राफिक कन्ट्रोल रुम, ट्याक्सी वे, पार्किङ तथा ड्रेन, हाई मास्ट फ्लड लाइट, ट्रान्सफर्मर बक्स, फुटपाथ, लिफ्ट, विमानस्थललाई राजमार्गसँग जोड्ने सडक, विमानस्थलभित्रका स्थानलाई जोड्ने सडक, जहाज पार्किङ, एअर साइड र ल्यान्ड साइडलगायतका काम सबै सम्पन्न भइसकेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को अघिल्लो आइतवार बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १७ गते (सन् २०२३ जनवरी १० देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरिसकेको छ । विमानस्थल सञ्चालनमा मुख्य बाधक मानिएका ल्यान्डफिल साइटलगायतका समस्या समाधान नहुँदासम्म हवाई उडान सञ्चालन सम्भव नहुने विज्ञहरूले बताउँदै आएका छन् । मुख्य समस्याका रूपमा देखिएको ल्यान्डफिल साइट सार्ने विषय महानगरपालिकाका लागि पेचिलो बनेको छ ।

Related Articles

Back to top button