News

परीक्षाको अन्योल र सङ्क्रमणको त्रासमा एसइई र कक्षा १२ का विद्यार्थी

कोभिड–१९ सङ्क्रमणको महामारीले स्थगित नभएको भए आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई शुरु हुन्थ्योे । देशव्यापी रुपमा कोरोना महामारीको दोश्रो लहर फैलिएसँगै जारी भएको निषेधाज्ञा र भाइरसको प्रकोप बढ्दै गएपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख २७ गते अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेसँगै परीक्षाको अन्योल छाएको छ । परीक्षाको अन्योल र महामारीको प्रकोपका कारण एसइई परीक्षाका लागि तयारी गरेका विद्यार्थीहरुमा मानसिक असर पर्न सक्ने त्रास पनि बढेको छ ।

एकातिर अब परीक्षा कहिले हुन्छ भनेर चिन्ता र अर्कोतर्फ कोरोना सङ्क्रमणबाट कसरी बच्ने भन्ने चिन्ताले परीक्षाको तयारीमा रहेका विद्यार्थी तनाबबाट गुज्रनु परेको बताउछिन् मध्यपुर थिमि नगरपालिका–४ राधेरोधेकी एलिशा श्रेष्ठ । एसइईको भन्दा कोरोना भाइरसको त्रास बढी रहेको उनको भनाई छ । परीक्षाको तयारी गर्दै नियमित अनलाइन कक्षामा बस्दै अएकी उनलाई अब परीक्षा कहिले होला, कसरी होला भन्ने चिन्ता त छदैछ, त्यसमाथि कोरोना सङ्क्रमणबाट कसरी बच्ने भन्ने चिन्ता लागिरहेको बताउँछिन् ।

आफ्नै छिमेकीमा रहेकी अस्मिता थापालाई कोरोना सङ्कंमणले गाह्रो पारेपछि एलिसालाई समेत मनोबैज्ञानिक असर परेको छ । एउटै विद्यालयमा अध्ययनरत साथीलाई केहीदिन अगाडि कोरोना सङ्क्रमणले उनको अनलाइन कक्षा त छुट्यो र निकै सास्ती भएको उनलाई थाहा छ ।

अस्मिता भन्छिन्, “कोरोनासङ्क्रमण भइहाल्यो, पढाई पनि छुट्यो, मलाई निकै कमजोर बनाएको छ, यहीबीचमा परीक्षा भयो भने कसरी दिने भन्ने चिन्ता धेरै छ, हामीले खोप पनि पाएका छैनौँ, खोइ कसरी बाच्ने र परीक्षा दिने जस्तो भयो ।” बाबुलाई सङ्क्रमण पुष्टि भएको दुई दिनपछि ज्वरो आएको उनलाई पनि भाइरसले आक्रमण गर्यो ।

यतिखेर विद्यालयका प्रिन्सिपल, शिक्षक, शिक्षिकादेखि परीक्षाको तयारीमा रहेका धेरै विद्यार्थीहरुलाई कोरोना सङ्क्रमण भएको प्याब्सनको भनाइ छ । भक्तपुरमा मात्रै ९२ प्याब्सनसँग आवद्ध भएका शिक्षक, कर्मचारीलाई सङ्क्रमणभएको बताउनुहुन्छ प्याब्सन भक्तपुरका अध्यक्ष चन्द्र अधिकारी ।

देशको यो विषम परिस्थितिमा कसरी परीक्षा हुन्छ भन्ने चिन्ता आम विद्यार्थीमा रहेको र अनलाइन परीक्षा लिदा पनि अगाडि नै प्रश्नपत्र बाहिरिने खतरा रहेको उहाँ बताउनुहुन्छ । प्याब्सन अध्यक्ष एवं भक्तपुर निष्टका प्रिन्सिपल अधिकारीले परीक्षा कसरी हुन्छ भनेर अभिभवाक र विद्यार्थीले चिन्ता व्यक्त गरिरहेको बताउनुहुन्छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले अहिलेको अवस्थामा विद्यार्थीहरु भौतिक रुपमा उपस्थित भएर परीक्षा सञ्चालन गर्ने अबस्था नभएको बताउनुहुन्छ । विद्यार्थीको स्वास्थ्यभन्दा परीक्षा ठूला नभएको भन्दै उहाँले विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै यही महिनामा एसइई र कक्षा १२ को परीक्षाको बारेमा उपयुक्त बिकल्पसहित निर्णय हुने उहाँले बताउनुभयो ।

यसवर्ष एसइई परीक्षाको तयारीमा रहेका धेरै विद्यार्थी आफै कोरोना सङ्क्रमित रहेको र यो क्रम अझै बढ्ने अबस्थामा अनलाइन परीक्षामा पनि धेरै विद्यार्थी सहभागी हुन नसक्ने अभिभावकहरुको धारणा छ । कतिपय विद्यार्थीले मोवाइलबाट अनलाइन कक्षा लिएका छन् । सबै विद्यार्थीसँग इन्टरनेट, कम्प्युटर र ल्यापटपको पहुँच छैन, मोवाइलबाट अनलाइन परीक्षा दिन सकिन्न । त्यसैले अनलाइन परीक्षाको प्रभाव नरहने अभिभावकको भनाइ छ ।

अभिभावक संघ नेपालका केन्द्रीय अध्यक्ष केशव पुरीले परीक्षामुखी शिक्षालाई जोड दिनु गलत भन्दै विद्यार्थीको भौतिक उपस्थिति र अनलाइन परीक्षा यतिखेर दुबै उपयुक्त छैन भन्नुहुन्छ । यसवर्ष कोरोना सङ्क्रमण जटिल रहेको र धेरै विद्यार्थी तथा अभिभावक सङ्क्रमित रहेकाले गतवर्ष जस्तै विद्यालयको आन्तरिक मूल्याङ्कन बिधिमै यसवर्ष पनि जानुपर्ने उहाँको धारणा छ ।

विद्यालयले सञ्चालन गर्ने कक्षा नौ सम्मको परीक्षालाई सरकारले विश्वास गर्ने अनि कक्षा १० को पढाई र मूल्याङ्नलाई किन विश्वास नगर्ने भन्दै उहाँले स्वदेश मै उच्चशिक्षा अध्ययन गर्ने र कतिपय विदेश जाने भएकाले कक्षा १२ को परीक्षालाई भने फरक बिधि अपनाउन सकिने बताउनुहुन्छ ।

“यसवर्ष धेरै विद्यार्थी सङ्क्रमित भएका छन्, यो क्रम बढ्दै छ, अनलाइन परीक्षाका लागि देशभरका सबै विद्यार्थीको पहुँच पुग्दैन भरपर्दो पनि छैन,” संघका अध्यक्ष पुरी भन्नुहुन्छ, “त्यसैले कक्षा १० माआन्तरिक मूल्याङ्कन गर्ने र कक्षा १२ को हकमा भने अनलाइन परीक्षा प्रणाली उपयुक्त हुन्छ ।” अभिभावकका लागि सन्तानको स्वास्थ्यभन्दा ठूलो परीक्षा हुन नसक्ने भन्दै कडाईका साथ बिधि बनाएर यसवर्ष पनि विद्यालयलाई जिम्मा दिनुपर्ने उहाँको भनाइ छ ।

प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमालले कोरोनाले अभिभावकदेखि परीक्षाको तयारीमा रहेका विद्यार्थीमा निकै त्रास बढेको बताउनुहुन्छ ।

Related Articles

Back to top button