नेपालमा देखियो नयाँ प्रजातिको कोरोना
बेलायतबाट फर्केका तीनजना नेपालीमा बेलायतमा विकसित कोरोना भाइरसको नयाँ भेरिएन्ट (नयाँ प्रजाति) को संक्रमण भएको संकेत देखिएको छ ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाकाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नुमना परीक्षण गर्दा तीन जनामा नयाँ कोरोनाको संक्रमण भएको संकेत देखिएको हो।
तर नेपालमा भएको मेसिनको सिस्टमले त्यसको निर्क्योल गर्न नसक्ने भएकाले थप परीक्षणका लागि नमुना हङकङ पठाइएको छ ।
‘हङकङ पठाउनका लागि सम्पूर्ण प्रक्रिया पूरा भइसक्यो । नमुना पठाउने अनुमति प्राप्त भइसकेकाले सोमबारसम्म ल्याबमा पुगिसक्छ,’ एनपीएचएलकी निर्देशक डा. रुना झाले भनिन् ।
एसजिन नेगेटिभ देखिएकाको मात्रै नमुना पठाउन लागिएको उनले बताइन् । बेलायतबाट फर्केका सात जनामा कोरोना पोजिटिभ देखिए पनि एसजिन नेगेटिभ तीन जनामा मात्रै देखिएको छ ।
बी–११७ को पीसीआर परीक्षण गर्दा विभिन्न जिनहरूमध्ये एसजिन देखिँदैन । इम्पेरिअल कलेज लन्डनमा संक्रामक रोग प्रमुख उइन्डी बार्क्लेका अनुसार कोराना संक्रमण रहे नरहेको पत्ता लगाउन पीसीआर परीक्षण गरेर कम्तीमा तीनवटा जिन हेर्दा एसजिन नदेखिएपछि त्यसको कारण पत्ता लगाउने क्रममा बी–११७ भेरिएन्ट पत्ता लागेको हो ।
‘यो नयाँ भेरिएन्ट पत्ता लगाउने सजिलो उपाय भनेको पीसीआर परीक्षणमा एसजिनको जाँच गर्दा त्यसले राम्रोसँग काम गर्दैन,’ बीबीसी रेडियोलाई उनले भनेका छन्, ‘एसजिनका साथै पीसीआर परीक्षणमा अन्य दुई जिन पनि भए नभएको हेरिने हुँदा संक्रमितहरू नेगेटिभ देखिने स्थिति हुँदैन ।’
बी–११७ सार्क मुलुक भारत, पाकिस्तानलगायतमा समेत देखिएपछि सरकारले बेलायतबाट आउनको निगरानी थालेको हो । यस क्रममा सात जनाको पीसीआर पोजिटिभ देखिएको थियो ।
बेलायतबाट फर्केका ७ जनामा कोरोना पोजिटिभ देखिएको र तीमध्ये ३ जनामा नयाँ प्रजातिको संक्रमणको संकेत देखिएको हो।
यसको पुष्टि गर्न नमुना यो हप्ताभित्र हङकङ विश्वविद्यालयको प्रयोगशालामा पुर्याउने योजना सरकारले बनाएको छ। सुरुमा बेलायतमा देखिएको यो परिवर्तित नयाँ कोरोना पुरानोभन्दा ७० प्रतिशत बढी संक्रामक छ। विज्ञका अनुसार पुरानो कोरोनाले हजार जनामा फैलिन सक्छ भने यो १७ सय व्यक्तिमा सर्न सक्छ।
तर स्वास्थ्य जटिलताका हिसाबले भने पुरानो कोरोनाभन्दा यसको संक्रमण खासै अन्तर नभएको विज्ञको भनाइ छ।