काठमाडौमा निशुल्क पीसीआर परीक्षण, कुन वडामा कहिले ?
काठमाडौ महानगरपालिकाले निशुल्क पीसीआरको दायरा बढाएको छ ।
कोभिड संक्रमणको लक्षण देखिएका तथा शंका लागेका व्यक्तिलाई पीसीआर परीक्षणका लागि काठमाडौँ महानगरले नमुना संकलनको नयाँ तालिका समेत सार्वजनिक गरेको छ ।
अब हरेक दिन बिहान ११ बजेदेखि कम्तीमा २ वटा केन्द्रबाट स्वाब संकलनको व्यवस्था गरिएको महानगरले जनाएको छ ।
यस अघिको नियमित तालिकामा दिनको एउटा केन्द्रबाट मात्र स्वाब संकलन हुने गरेको थियो ।
नयाँ तालिकाअनुसार आइतबार वडा नं–२९ को पद्मकन्या स्कूल, डिल्लीबजार र वडा नं–४ को विशाल मिलन केन्द्रमा स्वाब संकलन हुनेछ ।
त्यसैगरी सोमबार वडा नं– १६ को बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र वडा नं– २० को शान्ति निकुञ्ज विद्यालय र वडा नं– ३२ कार्यालय परिसरमा नमूना संकलन हुनेछ ।
मंगलबार वडा नं– ८, बजबागेश्वरी, १४ कलंकी र २६ लैनचौर कार्यालय परिसरमा, बुधबार मीनभवनस्थित साविक ट्रलीबस परिसरमा र वडा १५ को भुइँखेलमा, बिहीबार बसन्तपुर र महाबौद्धमा तथा शुक्रबार वडा नं– ३ कार्यालय परिसर महाराजगञ्ज र वडा नं– ६ कार्यालय परिसर बौद्धमा नमूना संकलन हुनेछ ।
महानगरको यो सेवा निःशुल्क हो । तर परीक्षण गर्न जानु अघि सम्बन्धित वडाका क्लिनिक इन्चार्जसँग सम्पर्क गरेर आईएमयू मा बिरामीको विवरण भर्नुपर्छ ।
अनलाइनमा तथ्याङ्क भरेपछि एउटा कोड आउँछ । यो कोडलाई पहेँलो फारममा टिपेपछि आईएमयू प्रक्रिया पूरा हुने महानगरका पीसीआर कार्यक्रम संयोजक ऋषिप्रसाद भुषालले बताउनुभयो ।