News

लमजुङमा अक्सिजन प्लान्ट निर्माण, पाेखरा जानुपर्ने बाध्यता हट्याे

लमजुङमा पहिलोपटक अक्सिजन प्लान्ट निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा स्वास्थ्य कार्यालयमार्फत जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट निर्माण गरिएको हो ।

अस्पतालमा एक कोठा बनाएर अक्सिजन प्लान्ट निर्माण गरिएको र अहिले आवश्यक मेसिनहरु जडान भइरहेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो ।

‘गएको एक महिनादेखि नै अक्सिजन प्लान्टका लागि एक कोठे भवन बनाइएको हो । आज (शनिबार) मेसिनहरु ल्याएर अहिले धमाधम जडान भइरहेको छ,’ अस्पताल प्रमुख श्रेष्ठले भन्नुभयो, ‘सम्भवत: आजै रातिबाट अक्सिजन उत्पादन सुरु हुन्छ ।’

उहाँका अनुसार यस प्लान्टबाट दैनिक १५ अक्सिजन सिलिण्डरमा अक्सिजन भर्न सकिने छ । अस्पतालमै अक्सिजन उत्पादन सुरु भएसँगै अक्सिजन सिलिण्डर भर्नका लागि पोखरा जानुपर्ने बाध्यता हट्ने अस्पतालले जनाएको छ ।

विशेषगरी कोरोना संक्रमितको उपचारका लागि लक्षित गर्दै अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिएको हो । अस्पतालको आइसोलेशनमा अहिले १७ जना कोरोना संक्रमित रहेका र तीमध्ये ७ जना कोरोना संक्रमितलाई अक्सिजन दिएर उपचार भइरहेको उहाँले बताउनुभयो ।

अक्सिजन उत्पादन सुरु भएपछि अस्पतालमा भर्ना भएका अक्सिजन दिनुपर्ने खालका बिरामीको उपचारमा सहज हुने स्वास्थ्य कार्यालय, लमजुङका प्रमुख अमर दवाडीले बताउनुभयो । उहाँका अनुसार अक्सिजन प्लान्ट निर्माणका लागि यस वर्ष गण्डकी प्रदेश सरकारले ७५ लाख रुपैयाँ विनियोजन गरेको हो ।

Related Articles

Back to top button