News

नेपाल प्रहरीको इतिहासमा सबैभन्दा दूरदर्शी र प्रभावशाली प्रहरी महानिरीक्षक बरालको निधन

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजित बरालको निधन भएको छ । बरालको पारिवारिक स्रोतले दिएको जानकारीअनुसार ९३ वर्षीय बरालको बुधबार महाराजगञ्जस्थित घरमै निधन भएको हो।बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनी पूर्वसांसद एवम् बर्माका लागि पूर्वराजदूत समेत बनेका थिए । राणा शासनविरूद्ध कांग्रेसले सुरू गरेको सशस्त्र आन्दोलनमा उनी मुक्ति सेनाका सिपाही थिए। उनको आजै दिउँसो अन्तिम संस्कार गरिने छ।

प्रहरी सेवाबाट अवकाश प्राप्त गरेपछि उनले ६ वर्षसम्म बर्माको लागि आवासीय नेपाली राजदूत, इन्डोनेसिया, सिङ्गापुर र फ्रेन्च इन्डो-चाइना (लाओस, कम्बोडिया, भियतनाम)को लागि गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी वहन गरेका थिए। बर्माका लागि नेपाली राजदूतबाट निवृत्त प्राप्त गरेपछि उनी राष्ट्रिय पञ्चायतमा मनोनित सांसद भएका थिए। सांसदको रूपमा सेवा समाप्त गरेपछि उनले युनाइटेड नेसन्स ट्रान्जिसन्ल अथरिटी इन कम्बोडिया (उन्टाक)को प्रमुख सम्पर्क अधिकृत भए।

बराल लोक सेवा आयोगबाट नेपालको तत्कालीन सरकारमा प्रहरी महानिरीक्षकको लागि सिफारिस हुने प्रथम स्नातकोत्तर उतीर्ण प्रहरी अधिकृत हुनका साथै ४४ वर्षको कनिष्ठ उमेरमा महानिरीक्षक हुने प्रथम व्यक्ति हुन्। साधारणतया प्रहरी प्रमुखको कार्यकाल ४ वर्षको हुने भएतापनि नेपाल प्रहरीको इतिहासमा ६ वर्षसम्म प्रहरी महानिरिक्षक जिम्मेवारी वहन गर्ने दुई जना मध्ये उनी र रोम बहादुर थापा हुन्।

आफ्नो कार्यकालमा प्रहरीमा ‘गाँस’ (रासन), ‘बास’ (भवन) र ‘कपास’ (पोशाक) को व्यवस्था गरेर प्रहरीको मनोबल उच्च बनाउन सफल भएकाले उनलाई नेपाल प्रहरीको इतिहासमा सबैभन्दा दूरदर्शी र प्रभावशाली प्रहरी महानिरीक्षक मानिन्छ।

उनी बर्माका लागि नेपाली राजदूत रहँदा बर्मामा अधिकारविहीन शरणार्थीसरह बसिरहेका नेपालीहरूलाई बर्मेली नागरिकता प्रदान गर्नुका साथै बर्मामा पशुपतिनाथ मन्दिर निर्माण गर्दै त्यहाँ भानुजयन्ती मनाउने परम्पराको सुरूवात गरेका थिए।

वि.सं. १९८५, वैशाख ५ मा नवलपरासीको देवचुलीस्थित चुलीबोझा (गाँउ) मा कप्तान बहादुर सिंह बराल र सरस्वती बरालका कनिष्ठ पुत्रका रूपमा खड्गजीत बराल जन्मेका हुन्। सैनिक परिवारमा हुर्केका बरालका पिता तथा सबै दाजुहरू तत्कालीन ब्रिटिस इन्डियन आर्मीको प्रथम गोरखा राइफल्स (दोस्रो बटालियन) मा कार्यरत थिए।

उनका पिता बहादुरसिंह बराल फुटबल र हकीको राम्रो खेलाडी भएकाले बाल्यावस्था देखिनै खेलकूद प्रति उनको अभिरूचि रहेको थियो। उनको जिजु हजुरबुवा रणजीत बराल नेपालको एकिकरणकालमा भक्ति थापासँग अङ्ग्रेजविरुद्ध ल’ड्ने फौजमा थिए। सो ल’डाइँमा नेपाली फौजको बहादुरी देखेर अङ्ग्रेजले नेपालीलाई ब्रिटिस इन्डियन आर्मीमा भर्ना लिने भए जसको फलस्वरूप रणजीत बराल ब्रिटिस इन्डियन आर्मी बनेका थिए। रणजीतका छोरा श्रीधर, श्रीधरका छोरा सर्वजीत र सर्वजीतको छोरा बहादुरसिंह बरालले आफ्नो पारिवारिक परम्परालाई आगाडि बढाए।

उनको बुवा बहादुरसिंह बराल फुटबल र हकीको राम्रो खेलाडी भएकाले बाल्यावस्था देखिनै खड्गजीतको खेलकुदप्रति अभिरूचि रहेको थियो। यसका साथै उनले रवीन्द्रनाथ ठाकुर र आफ्ना पिताको कविता तथा रचनाहरूबाट प्रभावित भएका थिए।

खड्गजीत बरालले भारतको पश्चिम बङ्गालको सेन्ट एन्ड्रयुज उच्च विद्यालयबाट प्रवेशिका परीक्षा उतिर्ण गरेका थिए। उनी सोही स्कूलमा कक्षा ८ मा अध्ययनरत रहँदा फुटबल र हकी टोलीका प्रथम नेपाली कप्तान भएका थिए। यो भन्दा अघिसम्म फुटबल र हकी टिमका कप्तान सधैँ भारतीयहरू मात्रै छानिन्थे।

बरालले विज्ञान विषयमा प्रमाण पत्र तह परीक्षा उत्तीर्ण गरेपछि आगरा विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरे। खड्गजीत अलीगढ मुस्लिम विश्वविद्यालयको फुटबल टोलीको प्रथम गैरमुस्लिम कप्तान भएर सो टोलीको नेतृत्व गर्दै अफगानिस्तानस्थित फुटबल प्रतियोगिताहरूमा भाग लिएका थिए। उनी सेमेस्टरको मध्यमै अलीगढ विश्वविद्यालय छोडेर पटना विश्वविद्यालयमा राजनीति शास्त्र विषय लिएर स्नातोकोत्तरमा भर्ना भएर त्यहाँबाटै स्नातोकोत्तर तह उत्तीर्ण गरेका थिए।

बराल प्रहरी सेवामा प्रवेश गरेको तीन वर्षमै प्रहरी नायव उपरीक्षक पदमा पढुवा भएका थिए। प्रहरी नायव उपरीक्षकमा बढुवा भएपछी उनको प्रथम दरबन्दी लुम्बिनी अञ्चलको रुपन्देही जिल्ला (भैरहवा) रहेको थियो। भैरहवामा कार्यरत रहँदा १ पुस, २०१७ मा तत्कालीन राजा महेन्द्रले राज्य सत्ता आफ्नो हातमा लिएपछि गृह मन्त्रालयको निर्देशानुसार तत्कालीन प्रहरी उपरीक्षकलाई पक्राउ गर्ने आदेश आएको थियो। पछि बराल धनुषाको जलेश्वरस्थित प्रहरी नायव उपरीक्षक कार्यालयको प्रमुख रहँदा उनले तत्कालीन काङ्ग्रेसी नेता तथा आफ्ना परम मित्र महेन्द्र नारायण निधिलाई दुई पटक गिरफ्तार गरेका थिए।

 

Related Articles

Back to top button