भारतमा कोरोनाले अहिलेसम्मकै धेरै ४ हजार ५२५ जना संक्रमितको मृत्यु
काठमाडौ / भारतमा कोभिड-१९ बाट एकै दिन ४ हजार ५२५ जनाको मृत्यु भएको छ। यो एकै दिन मृत्यु भएका संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमण हुनेको संख्या घटे पनि मृत्यु हुनेको संख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ४ हजार ५२५ जनाले ज्यान गुमाएका छन्।
सोमबार ४ हजार ३४० जनाको मृत्यु भएको थियो। त्यस्तै, आइतबार ४ हजार ९२ जनाले ज्यान गुमाएका थिए। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ८३ हजार २७६ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार १७४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। यो सोमबारको भन्दा ४ हजारले कम हो।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या २ करोड ५४ लाख ९५ हजार १४४ पुगेको छ। सक्रिय संक्रमित पनि ३२ लाख ३२ हजार १६५ पुगेका छन्।
पछिल्लो पटक दिल्ली र महाराष्ट्रमा संक्रमण नियन्त्रमा आउन थालेको छ। तर, नेपालसँग जोडिएका उत्तर प्रदेश, उत्तराखण्ड, बिहार र पश्चिम बंगालमा भने संक्रमण बढ्ने क्रममा यथावत रहेकाे जनाइएको छ ।