HealthNews

दाङमा बुवाको अ’न्त्येष्टि गर्दागर्दै छोराको मृ’त्यु

दाङ:बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुवा टोपबहादुर बस्नेतकोे दाहसंस्कार हुँदै थियो। उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा आइतबार मृत्यु भएका लक्ष्मणका बुवाको शव सोमवार गृहस्थानमा ल्याएर दाहसंस्कार गर्न थालिएको थियो। पत्रकार लक्ष्मण र उनका बुवा झन्डै २० दिनदेखि बिरामी भएर भैरहवामा उपचाररत थिए। 

दुवैको भैरहवा मेडिकल कलेजको सघन कक्षमा उपचार भइरहेको थियो। त्यही क्रममा आइतबार बुवाको मृत्यु भयो। सोमबार बुवाको दाहसंस्कार हुँदै गर्दा लक्ष्मणको पनि मृत्युको खबर आयो। यद्यपि बुवाको मृत्युको खबर लक्ष्मणलाई दिइएको भने थिएन। 

‘हामी दाहसंस्कारका लागि घाटमा थियौं’, रेडियो हापुरेका स्टेसन म्यानेजर प्रेमबहादुर राम्जाले भने, ‘त्यति नै बेला दिउँसो १ बजेतिर लक्ष्मणको पनि मृत्युको खबर आयो। हामी भावविह्वल भयौं, लक्ष्मणलाई बचाउने प्रयास सफल हुन सकेन।’ अहिले एकै घरमा दुई जनाको मृत्युको पीडामा पूरै पालिका, परिवार, गाउँ, जिल्ला र आम सञ्चार क्षेत्र शोकमा रहेको छ। 

दाङको बबई गाउँपालिका— ४ हापुरेका ३३ वर्षीय पत्रकार लक्ष्मण बस्नेत रेडियो हापुरेका संस्थापक स्टेसन म्यानेजर हुन्। पछिल्लो समय हापुरे अनलाइनका सञ्चालक उनी संघीय सरकारको शिक्षक अनुदान कोटामा विगत तीन वर्षदेखि बबई गाउँपालिका—१ मा रहेको सरस्वती मावि गंगटेका शिक्षक पनि हुन्। सञ्चारकर्मी लक्ष्मण बस्नेत वैशाख ७/८ गते देखिनै बिरामी थिए। कोरोनासँगको मिल्दोजुल्दो लक्षण भए पनि बस्नेतले झन्डै १० दिन जति स्थानीय मेडिकलबाट रुघाखोकी र ज्वरोको औषधि लिएर खाएँ। त्यसले केही सुधार नभएपछि चिकित्सकसहितको सेवा रहेको स्थानीय मनकामना पोलिक्लिनिकमा उपचारका लागि गए। 

पोलिक्लिनिकले उपचार गर्न नसक्ने भन्दै रिफर गरेपछि तुलसीपुरमा रहेको तुलसीपुर सिटी अस्पतालमा ल्याई केही घण्टा उपचार गरियो। अक्सिजनको अभावले सीटीले पनि तुलसीपुरकै राप्ती लाइफ केयर अस्पतालमा रिफर गरेपछि एक दिन त्यसमा उपचार गरी बस्नेत घर फर्किएका थिए। 

लाइफ केयरमै हुँदा उनको पीसीआर परीक्षण गरिएको थियो। रिपोर्ट नेगेटिभ आयो। तर उनमा सुधार भएन। पुनः लाइफ केयरमै उपचारका लागि बस्तेत अर्काेदिन तुलसीपुर आए। अवस्था जटिल बन्न थालेपछि उनलाई उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगियो। भैरहवामा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई कोभिड उपचारका लागि सघन कक्षमा राखिएको थियो। 

लगत्तै उनका पितालाई पनि सोही खालको लक्षणसहितको बिमारी सुरु भयो।  त्यो पनि जटिल प्रकृतिले। जिल्लामा उपचार सम्भव नभएपछि उनलाई पनि रूपन्देहीको भैरहवास्थित युनिर्भसल मेडिकल कलेजमा लगिएको थियो। तर दुवै जनाले एक दिनको फरकमा मृत्युवरण गरे। 

बाबु छोराकै अस्पतालमा उपचार भयो। रेखदेखका लागि बसेकी लक्ष्मणकी श्रीमतीले निकै तनाव बेहोर्दै बिरामीका लागि आईसीयू, भेन्टिलेटर त कहिले अक्सिजन अभावको व्यवस्थापन गरिन्। श्रीमान् पत्रकार भएकाले उनले पत्रकारसँग सम्बन्धित संघसंगठन गुहारेर ती सबै अभावहरूको पूरा गरेकी थिइन्। बस्नेतको उपचारमा आर्थिक अभाव भएपछि दाङमा सहयोग अभियान पनि चलेको थियो।(अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ)

Related Articles

Back to top button