बिहेको रमझम सकिएकै थिएन । परिवारमा नयाँ सदस्य ल्याएको खुशी कायमै थियो । तर, त्यो उत्साह अहिले शोकमा परिणत भएको छ । बिहे गरेको दुई साता नबित्दै एक जनाले ज्यान गुमाएका छन् भने एक चेलीको सिन्दुर पुछिएको छ ।
कोरोनाकै कारण ज्यान गुमाउनेमा बुटवल–११ देवीनगरका २९ वर्षीय दीपक ज्ञवाली हुन् । उनको परिवारले वैशाख १५ का लागि बिहेको लगन छिनेका थिए । तर बिहे हुन लागेका बुटवल–११ देवीनगरका २९ वर्षीय दीपक ज्ञवालीलाई भने १० गतेदेखि नै ज्वरो आएको थियो । नजिकको मेडिकलमा रगत जाँचपछि टाइफाइड भएको भन्दै ५ दिनलाई औषधि दिइयो ।
स्लाइन चढाइयो । उनको स्वास्थ्यमा सुधार आएन । पुनः उपचारका लागि गए पनि पूरा औषधि खाएपछि निको हुन्छ भनेर मेडिकल सञ्चालकले फर्काइदिए । उता बिहेको तयारी चल्दै थियो । सन्चो नभए पनि औषधिको भरमा सीमित जन्तीसहित दीपक दुलही लिन गए । गुल्मीबाट केटी पक्ष बुटवल आएका थिए ।
बुटवलकै एक होटलमा बिहे सकेर दिउँसो २ बजे दुलही लिएर फर्किए । बिहेकै साँझ बिरामले च्यापेपछि दीपकलाई उनका दाइले लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएर पीसीआर परीक्षण गराए । अर्को दिन रिपोर्ट पोजिटिभ आयो । ‘घरमै हेरचाह गरौंला भनेर अक्सिजनसहित घर आयौं,’ उनका दाइले भने, ‘घरमा ल्याउँदा ज्वरो र खोकी थिएन ।’
भोलिपल्ट दिउँसो श्वासप्रश्वासमा समस्या भएपछि दीपकलाई मेडिटेक अस्पताल पुर्याइयो । अक्सिजन लगाएर एक दिन त्यहीँ राखियो । १८ गते उनलाई धागो कारखानास्थित कोरोना विशेष अस्पताल लगियो ।
एक रात अक्सिजनसहित आइसोलेसनमा राखिए पनि अवस्था नसुध्रिएपछि भोलिपल्ट आईसीयूमा सारियो । १० दिनदेखि उनको आईसीयूमा उपचार चलिरहेको थियो ।
तर वैशाख २९ को साँझ ५ बजे एकाएक अस्पतालमा अक्सिजन सकिएको भन्दै नर्स आत्तिए । आधा घण्टासम्म अक्सिजन आपूर्ति नहुँदा आईसीयूमा रहेका ५ जनाले ज्यान गुमाए । त्यसमध्येमा दीपक पनि एक थिए । ताजा खबर बाट