पशुपतिमा एक्लै छोराको चिता कुरेर बसेकी आमा
पशुपतिको दक्षिण ढोका सामुन्ने एक महिला घुँडामा हात लगाएर बसेकी थिइन्। उनको घर नुवाकोट हो। छोरासँग नयाँबजारमा बस्थिन्। बिहीबार छोराको मृ’त्यु भएको रहेछ।
उनी छोराको श”व चि’ता कुर्ने लाममा राखेर एक्लै झोक्राइरहेकी थिइन्।
‘कसरी भयो?’ मैले सोधेँ।
‘ब्रेन ह्यामरेज भएको थियो,’उनका आँखा टिलपिलाए, ‘१७ दिन उपचार गर्दागर्दै गयो।’
उनी अस्पतालमा कुरूवा बस्दाका सामान च्यापेरै आर्यघाट आइपुगेकी थिइन्।
‘आर्यघाटमा भ्याइनभ्याइ रैछ,’उनले भनिन्, ‘अझै तीन घन्टा लाइनमा राख्नुपर्छ रे।’
जवान छोरो गुमाएर टाेलाइबसेकी आमालाई के सोध्ने? मलाई प्रश्नै आएन। एकछिन उनकै सामुन्ने टोलाएर बसेँ।
अलि पर आर्यघाटमा चिता बुकिङ गर्ने काउन्टरअगाडि अर्की महिला कालो म्याटमाथि घुँडामा हात राखेर बसिरहेकी थिइन्। निलो मास्कले अनुहार छोपिए पनि उनका आँखा कसैलाई खोजिरहेका थिए। नजाने कसलाई पर्खेकी हुन्!
एकछिनअघि घाटमा शव जलाउने व्यक्तिसँग कुरा गरिरहँदा मैले यी महिलालाई देखेकी थिएँ। उनी छेउमा टुसुक्क बसेर हाम्रो कुरा सुनिरहेकी थिइन्।
हामी कोरोना महामारीले आर्यघाटमा बढेको व्यस्तताबारे कुरा गर्दै थियौं। कोरोना संक्रमितलाई आर्यघाटमा जलाइन्न। उनीहरूलाई विद्युतीय शवदाह गृहमा मात्र जलाउने अनुमति छ। त्यहाँ दैनिक सय जना जलाइने गरेको छ।
संक्रमितहरूलाई विद्युतीय शवदाह गृहमा जलाएपछि आर्यघाटमा शवको संख्या सामान्य हुनुपर्ने हो। तर, त्यस्तो छैन।
‘अचेल कोरोना संक्रमितबाहेक पनि दैनिक ४५ देखि ६० वटा शव ल्याइन्छ,’ ती व्यक्तिले भने, ‘यस्तो कसरी भइरहेको छ, हामी छक्क परेका छौं।’
उनले अगाडि भने, ‘लकडाउनपछि कति धेरै मानिस मरिरहेका हुन्? एउटा शव कम्तिमा तीन घन्टा लाइनमा राखेपछि बल्ल जलाउने पालो आउँछ।
यो बिहीबार दिउँसो १२ बजेतिरको कुरा हो। मध्याह्नको समयमा पनि दिन खुलेको थिएन। झरी भर्खरै थामिएको थियो। लकडाउनले सुनसान पशुपति क्षेत्रमा बेलाबेला शव वाहन र एम्बुलेन्सको आवाज मात्र सुनिन्थ्यो। आर्यघाटका प्रत्येक चितामा शव जल्दै थिए। एउटा त कुनै उच्च ओहोदाका प्रहरी अधिकृतको चिता रहेछ।
म निलो मास्क लगाएर टोलाइरहेकी ती महिलासँग कुराकानी गर्न जाँदा बागमती पारीबाट प्रहरीले सलामी चढाउँदै गरेको आवाज कानमा ठोक्किँदै थियो।
तपाईंले कसलाई खोज्नुभएको?’ मैले ती महिलालाई सोधेँ।
‘ग्राहकलाई नि,’ सायद उनी मास्कभित्रै मुसुक्क हाँसिन्। उनका आँखा यताउति बरालिइरहेकै थिए।
उनको पछाडि बायाँपट्टि दुइटा थर्मस थिए। दायाँ-बायाँ दुईतिर जेब्रा झोला, उनले भनिन्, ‘थर्मसमा दूध र रातो चिया छ। झोलामा खाजा। ग्राहक आउँछन् कि भनेर कुरेको!’
उनको नाम माया भुजेल। घर सिन्धुपाल्चोक। उनले पशुपति क्षेत्रमा चियाखाजा बेच्न थालेको पाँच वर्ष भयो। एक छोरी र एक छोरा छन्। पाँच महिनाअघि मात्र उनले पतिसँग सम्बन्ध विच्छेद गरेकी रहिछन्।
‘अति भएपछि गौशाला पुलिस थानामा गएँ। योसँग बस्नै सक्दिनँ, छोडपत्र गर्दिनुस् भनेँ। त्यहीँ हाम्रो छोडपत्र भयो,’ उनले भनिन्।
मायाले १४ वर्षकै उमेरमा बिहे गरेकी थिइन्। भर्खर सपना देख्ने उमेर थियो। जिन्दगीबारे निर्णय लिने भइसकेकै थिइनन्। ती मानिसले फुर्क्याएकै भरमा उनी बत्तिइन्।
बिहे गरेको ६ महिनामा पतिको घर गएपछि पो थाहा पाइन्, उनी त दोस्री श्रीमती रहिछन्!
‘मलाई त आफू ठगिएँझैं लाग्यो,’ उनले सुनाइन्, ‘तर जाने ठाउँ कहीँ थिएन। जसोतसो उतै बसेँ।'(यो सामग्री सेतो पाटी डटकम मा शोभा शर्माले लेख्नु भएको छ, हामीले सेतो पति डटकम बाट साभार गरेका हौ)