कोरोनाले लान्छ जस्तो लागेको थियो, तर कोरोनालाई जिते
शान्तिनगर गाउँपालिका-३ का ३८ वर्षीय हुमबहादुर परियार बिहीबार १२ दिनपछि कोरोना जितेर डिस्चार्ज भएका छन्। उनले कोरोना जित्छन् भन्ने आश न परिवारलाई थियो न आफन्तलाई। चिकित्सक र स्वास्थ्यकर्मीले पनि उनको अवस्था देखेर माया मार्न लागेका थिए।

तर उनले कोरोना जितेर नयाँ जीवन पाएका छन्। अहिले परिवारमा खुसी फर्किएको छ। परियार दैनिकी मजदुरी गर्ने व्यक्ति हुन् परियार उनलाई सुरुमा रुघाखोकी र ज्वरो आयो। त्यसपछि उनी धेरै बिरामी भए। तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि गए।
अस्पतालले उनलाई कोरोना शंका गरेपछि उपचार नगरी पिसिआर जाँच गर्न पठायो। त्यसपछि उनलाई एम्बुलेन्समा पिसिआर जाँचका लागि घोराही लगियो। त्यति बेला उनको अवस्था गम्भीर भइसकेको थियो। परियारको स्वाब पिसिआर परीक्षणका लागि दिएपछि उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगियो।
त्यहाँ पनि कोरोना पुष्टि नहुँदासम्म अस्पतालमा भर्ना गरिएन। परियारका आफन्तले त्यति बेलासम्म हार खाइसकेका थिए। उनको अवस्था बिग्रिँदै गएको थियो। ‘आर्थिक अभावका कारण बाहिर लग्न पनि नसक्ने र कोरोना पुष्टि नहुँदा अस्पतालमा भर्ना नलिने भन्यो, हामीले आश मारिसकेका थियौँ,’ आफन्त प्रेम परियारले भने, ‘उहाँ बाँच्नुहुन्छ, जस्तो लागेको थिएन। बिरामीको अवस्था निकै नाजुक थियो।’