पश्चिम बाट उदाएकी गायीका “रेखा जोशी” पुरा पढ्नुहोस्
कामप्रतिको लगाव र परिश्रमले जुनसुकै क्षेत्रमा सफल भइन्छ’ भन्ने उदाहरण युवा देउडा गायिका रेखा जोशी बन्नुभएको छ । पछिल्लो समय उहाँले आफूलाइ सुदूरपश्चिमको देउडा क्षेत्रमा अब्बल सावित गराउन सफल हुनुभएको छ ।
पाँच/छ वर्षअघि मात्रै देउडा गायन क्षेत्रमा उहाँ प्रवेश गर्नुभएको थियो । कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखा निवासी उहाँका कर्णप्रिय देउडा गीत सुन्न श्रोता औधि मनपराउँछन् । उहाँ यहाँका देउडा पारखीको मनमनमा पस्न सफल हुनुभएको छ । उहाँले पाँच वर्षको अवधिमा ७०० भन्दा बढी देउडा, लोक तथा सुदूरपश्चिमको ठाँडी भाकामा स्वर दिइसक्नुभएको छ ।
उहाँले विसं २०७१ मा ‘घुटुक्क बाडुली लाग्या’ बोलको गीतमा पहिलोपटक स्वर दिनुभएको थियो । यसपछि देउडा गीत बजारमा आउने क्रम रोकिएको छैन । “तीन वर्षअघि बजारमा आएको ‘मैना’ एल्बमले सुदूरपश्चिमको देउडा क्षेत्रमा मलाई परिचित गरायो ।” उहाँले भन्नुभयो, “मैना गीत युटुबमा समेत २६ लाखभन्दा बढीले हेरे ।”
“देउडाले पनि सुदूरपश्चिमलाई मुलुकभर चिनाएको छ ।” उहाँले भन्नुभयो, “विदेशमा पनि नेपाली देउडा भन्नासाथ हुरुक्कै हुन्छन् ।” प्रदेशको पीडा, सुदूरपश्चिमको कला, संस्कृतिलाई संरक्षण एवं सम्वद्र्धनमा समेत देउडा गीत सहयोग बन्दै आएको र आफू यहाँका पर्यटकीयस्थलको समेत साङ्गीतिक यात्रामार्फत प्रचारप्रसारमा जुटिरहेको उहाँले बताउनुभयो ।
“भारतको दिल्ली, बैंग्लोर, मुम्बैदेखि कतार, दुबई, कोरियासम्म देउडा गायनका क्रममा पुगेको छ ।” उहाँले भन्नुभयो, “गायनबाट अध्ययनलाई प्रभावित हुन दिएको छैन ।” हाल सुदूरपश्चिम प्रदेशको लोकदोहरी प्रतिष्ठानको सदस्यसमेत रहनुभएकी गायिका जोशीले आफू स्कूले समयदेखि नै गायनमा बुबाआमासँगै लागेको बताउनुभयो ।
“बुवा र आमा पनि देउडा गीत राम्रै गाउनुहुन्थ्यो ।” उहाँले भन्नुभयो, “दुवै दाजुहरुले पनि गायनका क्रममा स्टुडियो पु¥याउनसम्म ठूलो सहयोग गरे ।” करिब तीन वर्ष यहाँको स्थानीय रेडियोमा कामसमेत गर्नुभएकी जोशीलाई विगत केही वर्षयता यहाँका हरेक साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रममा स्थान दिँदै आइएको छ । “बंैकिङ क्षेत्रमा जाने ठूलो चाहना थियो ।” उहाँले भन्नुभयो, “देउडा यहाँको संस्कृति भएकाले पनि हामी युवा पुस्ता यसको जगेर्नामा लाग्नुपर्छ ।”
पछिल्लो समय यहाँको देउडा गायन क्षेत्रमा निकै सक्रिय र व्यस्त रहेकी जोशीले लोप हुन लागेको देउडामा नयाँ क्रेज थपिएको बताउनुभयो । “युवापुस्ता पनि देउडामा नयाँपन ल्याउँदा झम्मिरहेको देख्छु ।” उहाँले भन्नुभयो, “गायनबाटै सम्मान र दामसमेत पाएकै छु ।” पछिल्लो समय युवापुस्तामाझ निकै लोकप्रिय बनेका देउडा गायक लालबहादुर धामी (अछामी बड्डो) ले गायिका रेखा जोशी छोटो समयमै सफल कलाकारका रुपमा लिनुहुन्छ । “देउडामा थोरै समयमा रेखाले राम्रो प्रगति गरिँन ।” उहाँले भन्नुभयो, “उनलाई यहाँका अग्रजको पनि साथ र सहयोग छ ।”