काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिँदै छन् । राष्ट्रपति विद्या देवी भण्डारीले प्रधानमन्त्रीका रुपमा ओलीलाई नियुक्त गरेको भएपनि अन्य मन्त्रीको पद भने गुमेको छ ।
गएको सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि विहिवार बेलुकी ९ बजेसम्म दिएको समयमा अन्य दलले वहुमत देखाउन नसकेपछि ओली पुन प्रधानमन्त्री बनेका हुन् । संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको हैसियतमा फेरि ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर समूहले सहयोग नगर्दा विपक्षी गठबन्धनको बहुमतीय सरकार बन्न असफल भएको हो ।
जसपाको ठाकुर समूहले प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने र एमालेको खनाल–नेपाल समूहले पनि राजीनामा नदिने भएपछि अन्तिम अवस्थामा आएर बहुमतीय सरकारको दाबी गर्नबाट कांग्रेस सभापति शेरबहादुर देउवा पछि हटे ।
पुनः नियुक्ति पाएका प्रधानमन्त्री ओलीले जसपाको महन्थ ठाकुर समूह र आफ्नै पार्टीभित्रको असन्तुष्ट खनाल–नेपाल समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको बुझिएको छ ।संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
तर, धारा ५ अनुसार बनेको प्रधानमन्त्रीले पनि विश्वासको मत लिन सक्नुपर्छ । त्यसो हुन नसके देश मध्यावधी चुनावमा जान्छ । सबै विकल्प समाप्त भएमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को चुनावको मिति घोषणा गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रधानमन्त्रीको सपथ लिएपछि प्रधानमन्त्री ओलीले मन्त्री मण्डल विस्तार गरेर मन्त्रीहरुलाई पनि सपथ खुवाउनुपर्नेछ । खानेपानी मन्त्री मणि थापा र युवा तथा खेलकुद मन्त्री दावा तामाङ संघीय संसदको सदस्य नभएका कारण ६ महिनाभन्दा बढी मन्त्री बन्न नपाउने संवैधानिक प्रावधानले जेठ १० गते आफै पदमुक्त हुँदै थिए ।
रामवहादुर थापा बादल, टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी पनि सांसद विहिनका मन्त्री हुन् । उनीहरु पनि ६ महिना भन्दा बढी मन्त्री हुन पाउँदैनन् ।
संकटमा आफूलाई साथ दिएका पूर्व माओवादीलाई अलपत्र नपार्ने ओलीको नीति बमोजिम यसअघि क्याबिनेटमा रहेका सबैलाई पुनः ६ महिनाका लागि मन्त्री बनाउलान् ? यसका लागि ओली आन्तरिक छलफलमा छन् ।
टोपवहादुर, लेखराज, प्रभु साह र गौरीशंकर चौधरी ६ महिनाभित्रै हुने उप-चुनावमा एमोबाट उम्मेदवार बन्ने निश्चित छ । वादल पनि चुनाववाट आउने सम्भावना छ । एमाले एक भएपछि उनले पनि निर्वाचन जित्ने निश्चित देखिएको छ ।
दश दिनपछि मन्त्रीबाट पदमुक्त हुन लागेका मणि र दावा पुनः ६ महिनाका लागि मन्त्री बन्न संविधानले त छेक्दैन तर अब नैतिक संकट भने उत्पन्न हुन्छ । प्रधानमन्त्री अहिले आन्तरिक छलफलमै छन् तर उप(चुनावबाट आउने बाहेक अरुले निरन्तरता नपाउने सम्भावना नरहेको निकट स्रोतले जनाएको छ । त्यसमा सम्बन्धित व्यक्तिहरु समेत ‘कन्भिन्स’ भएको बताइन्छ ।