लमजुङमा भूकम्पको धक्का
पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लास्थित मस्र्याङ्दी गाउँपालिका–३ खुदी आससास केन्द्रविन्दु बनाएर आज राति ८ बजेर ३० मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पले जिल्लावासीलाई त्रसित बनाएको छ । भूकम्प जानासाथ स्थानीयवासी घरबाट सडक गल्लीमा निस्केका थिए । मानवीय क्षतिबारे जानकारी भने केही नआएको जिल्ला प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “हालसम्म मानवीय क्षति भएको खबर प्राप्त नभए पनि भूकम्प जाँदा त्रसितका कारण सर्वसाधरणहरू घरबाहिर निश्केका थिए ।”
यो पनि – सात दिनदेखि अवरुद्ध राजमार्ग सञ्चालन
असोज ३१ गतेदेखि आएको अविरल वर्षाका कारण कात्तिक २ गतेदेखि अवरुद्ध भएको केआई सिंह राजमार्ग सोमबारदेखि सञ्चालनमा आएको छ । बेमौसमी वर्षासँगै रडुवा खोलामा आएको बाढी र सडकमाथिबाट खसेको पहिराका कारण डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवामा झण्डै २५० मिटर सडक पूर्ण रुपमा क्षति भएको थियो ।
लगातार तीन दिनको प्रयासपछि सोमबार दिउँसो सडक जोडिएको डिभिजन सडक कार्यालय कुलपाते डोटीका प्रमुख सुदर्शन कार्कीले जानकारी दिनुभयो । “सडक अवरुद्ध भएपछि दुवैतिर रोकिएका सवारी साधनहरु, मालवाहक साधनहरु र ट्याङ्करहरु पास भइसकेका छन्”, डिभिजन प्रमुख कार्कीले भन्नुभयो, “हामी अझै सडकको सतह मिलाउँदैछौँ ।”
कात्तिक ३ गतेदेखि वर्षा रोकिए पनि सडक काट्दा बस्ती जोखिममा पर्ने भन्दै स्थानीयवासीले विरोध गरेका कारण सडक खुलाउन ढिलाइ भएको थियो । स्थानीयवासीसँगको समन्वय र छलफलपछि सडक खुलाइएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । एक सातासम्म सडक अवरुद्ध हुँदा जिल्लामा इन्धन, दैनिक उपभोग्य वस्तुको अभाव देखिन थालेको थियो । सडक अवरुद्ध हटेपछि बाढीपीडितहरुको उद्धार र राहतमा पनि सहज हुने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । उक्त सडक खण्ड खुलेसँगै डोटी, अछाम र बाजुराबाट आउजाउ गर्ने सवारी साधनहरु सञ्चालनमा आएका छन् ।