विद्युत् प्राधिकरणले पायो ४९०.२ मेगावाटको अरुण–४ जलविद्युत्को लाइसेन्स
काठमाडौं । सरकारले अरुण नदीमा पहिचान भएको ४९०.२ मेगावाटको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको सर्भेक्षण अनुमतिपत्र नेपाल विद्युत् प्राधिकरणलाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संखुवासभाको भोटखोला र मकालु गाउँपालिकास्थित सो आयोजना निर्माणको लाइसेन्स प्राधिकरणलाई दिने निर्णय गरेको हो ।
जसका लागि नियमन निकाय विद्युत् विकास विभागले यस आयोजनाको विस्तृत डिजाइन तथा अध्ययन प्रतिवेदन तयार गरिसकेको छ । प्राधिकरणले यस आयोजनाको लाइसेन्सका लागि विभागमा गत २९ भदौमा आवेदन दिएको थियो ।
सोही आधारमा प्राधिकरणले यस आयोजनाको सर्वेक्षण लाइसेन्स सोमबार प्राप्त गरेको छ । अब प्राधिकरणले सो आयोजना निर्माण गर्नेछ । अरुण–४ प्राधिकरणले निर्माण गर्न लागेको १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको विद्युत् गृहभन्दा तल्लो भागमा पर्छ । अरुण–४ को लाइसेन्स पाएसँगै अरुण नदीमा प्राधिकरणले १ हजार ५ सय ५१ मेगावाटका दुईवटा आयोजनाहरू एक साथ अघि बढाउनेछ ।
आयोजना निर्माणको अनुमानित लागत ६५ अर्ब रुपैयाँ
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण र अरुण–४ गरी १ हजार ५ सय ५१ मेगावाटको आयोजनाको निर्माण समानान्तर रूपमा ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत अघि बढाइने बताए ।
अरुण–४ को लाइसेन्स पाउनु प्राधिकरणका लागि ज्यादै खुसीको कुरा भएको र माथिल्लो अरुण तथा अरुण–४ आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण र लगानीको मोडालिटी आगामी एक÷डेढ वर्षभित्रमा टुंगाएर अघि बढाउने बताउँदै कार्यकारी निर्देशक घिसिङले भने, ‘अब यस आयोजनाबाट प्राप्त हुने लाभ आम नागरिकलाई पनि उपलब्ध गराउन सर्वसाधारणले पनि सेयर खरिद गरी आयोजनामा लगानी गर्न पाउने व्यवस्था गरिनेछ ।’
जसका लागि विद्युत् विकास विभागले अरुण–४ विद्युत् गृह आयोजनालाई नदीको वहावमा आधारित आयोजनाको रूपमा पहिचान गरेको थियो । तर, माथिल्लो अरुण अर्धजलाशययुक्त मोडलमा डिजाइन गरिएकाले अब यसबाट प्राप्त हुने पानीको बहावलाई सदुपयोग गरी अरुण–४ लाई पनि अर्धजलाशययुक्त बनाउन लागिएको प्राधिकरणले जानकारी गराएको छ ।
प्राधिकरणका अनुसार यस अरुण–४ आयोजनाको बाँधस्थल संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका–४ र ५ स्थित अरुण नदी र लेक्सेवा दोभानभन्दा करिब १ सय ३० मिटर दक्षिण तथा कपासे र गोलाबस्ती भन्दा उत्तरमा पर्छ । बाँधमार्फत अरुण नदीको पानीलाई फर्काएर २.५५ किलोमिटर सुरुङ मार्गमार्फत भूमिगत बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर)मा लगिनेछ । डिसेन्डरबाट पानीलाई ६.८ किलोमिटर सुरुङमार्फत मकालु गाउँपालिका–३ स्थित सजुवाबेसीमा भूमिगत विद्युत्गृहमार्फत विद्युत् उत्पादन गरिनेछ । विद्युत्गृहबाट विद्युत् उत्पादन गरी ४७३.४ किलोमिटर टेलरेस सुरुङमार्फत त्यहाँको पानीलाई पुनः अरुण नदीमा खसालिनेछ ।
यस आयोजना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ । संखुवासभाको सदरमुकाम खाँदबारीबाट आयोजनाको विद्युत्गृह र बाँध क्षेत्र पुग्न करिब ६२ र ७७ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ । कोसी राजमार्गअन्तर्गत खाँदबारीदेखि यस आयोजना निर्माण क्षेत्रसम्मको सडक खण्ड हाल स्तरोन्नति भइरहेको छ । बाँध क्षेत्र कोसी राजमार्गमा नै पर्दछ ।
विद्युत्गृह क्षेत्र पुग्ने करिब २ किलोमटर ग्रामिण सडक हाल त्यहाँको गाउँपालिकाले स्तरोन्नति गरिरहेको अवस्था छ । विभागले गरेको अध्ययनअनुसार, यस आयोजना निर्माणको अनुमानित लागत ५५ करोड अमेरिकी डलर (करिब ६५ अर्ब रुपैयाँ) रहेको छ । यस आयोजना सञ्चालनमा आएपछि वार्षिक २ अर्ब ९ करोड युनिट विद्युत् उत्पादन हुने विभागको अनुमान छ । राजधानी दैनिक