News

दसैं मनाउन गएका श्रीमानको मृत्युकाे खबर सुनेपछि रुँदारुँदै प्राण त्यागिन श्रीमतीले

धनकुटा । दसैंको उल्लास सकिन नपाउँदै धनकुटाको साँगुरीगढी गाउँपालिका–१० आहालेस्थित चिराङ चोकका झगेन्द्र राईको परिवार शोकमा डुबेको छ । गाउँमा दसैं मनाउन आएका झगेन्द्र सधैंका लागि बिदा भए । श्रीमानको मृत्युको पीडा सहन नसक्दा रुदारुँदै उनकी श्रीमती अनुले पनि संसार छोडिन् । दसैं बिदा हुन नपाउँदै एकपछि अर्को परिवारका सदस्यलाई सधैंका लागि बिदा गर्नुपर्दा परिवारमा बज्रपात परेको छ ।

धरान उपमहानगरपालिका–११ मंगलबारेमा परिवारसहित बस्दै आएका ४३ वर्षीय झगेन्द्र गत मंगलबार दसैंको टीका लगाउन मोटरसाइकलमा छोरालाई साथमा लिएर साँगुरीगढीको आहालेस्थित गाउँ आएका थिए । नेपाली कांग्रेस साँगुरीगढी–१० का वडा सभापतिसमेत रहेका झगेन्द्र सोही दिन साँझबाट बेपत्ता भए । उनको मोटरसाइकल धरान–२० स्थित धरान–आहाले सडक खण्डमा पर्ने खैरेनी खोलामा भेटियो । खोजी गर्ने क्रममा बुधबार उनको शव सडकबाट झन्डै एक किलोमिटर तल खोलामा फेला प-यो । धरान प्रहरीको समन्वयमा उनको शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो ।

श्रीमानको मृत्युको खबरले उनकी श्रीमती अनु छाँगाबाट खसेजस्तै भइन् । परिवारमा बज्रपात प-यो । श्रीमान गुमाउँदाको पीडाले विक्षिप्त बनेकी उनी रुदारुँदै बिहीबार बिहान बेहोस भइन् । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भयो । पोस्टमार्टमपछि झगेन्द्रको शव दाहसंस्कारका लागि लैजाने तयारी गर्दै गर्दा उनकी श्रीमती अनुको पनि मृत्यु भएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति जितेन्द्र रुम्दालीले बताए । ‘श्रीमानको मृत्युको खबरले उहाँ निकै विक्षिप्त हुनु भएको थियो, रुदारुँदै बिहान बेहोस भएर अस्पताल लैजाने क्रममा बाटैमा बित्नुभएछ,’ रुम्दालीले भने, ‘सारै अनौठो र पीडादायी घटना भयो ।’

बिहीबार दिउँसो धरानको हरियाली सामुदायिक वन क्षेत्रमा श्रीमान–श्रीमती दुवैको एकैसाथ अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राईलगायत नेताले पार्टीको झन्डा ओढाएर उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । स्व.राई नेपाली कांग्रेसको १४आंै महाधिवेशनअन्तर्गत गत महिना सम्पन्न वडा अधिवेशनबाट साँगुरीगढी–१० को वडा सभापतिमा निर्वाचित भएका थिए । स्व.राई दम्पतीका एक छोरा र एक छोरी छन् । बुबा–आमालाई एकैसाथ गुमाउँदा उनीहरू विछिप्त छन् । राजधानी दैनिकबाट

Related Articles

Back to top button