आज कहाँ-कहाँ पानी पर्छ ? हेर्नुहोस् मौसम पूर्वानुमान
काठमाडौं । शुक्रबार देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक(दुई स्थानहरुमा हल्का पानी परिररहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा असर गर्ने उलेखनिय मौसमी प्रणाली रहेको छैन ।
आज दिउँसो प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक(दुई स्थानहरुमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ ।
यस्तै आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक(दुई स्थानहरुमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।
त्यस्तै अविरल वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा अझै सुचारु हुन सकेको छैन । भारी वर्षाका कारण स्थानीय केसलिया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरिया अझै जलमग्न छ ।
भारी वर्षाका कारण डुबानमा परेको विमानस्थलको पानी नघटेपछि यहाँबाट हुने हवाई सेवा सुचारु हुन केही दिन लाग्ने विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
विमानस्थलको धावनमार्ग र ट्याक्सी मार्गलगायतका क्षेत्रमा पानी घटे पनि टर्मिनल भवन, पार्किङ क्षेत्र तथा परिसर आसपास अझै डुबानमा रहेकाले छिटोमा आगामी शनिबारदेखि मात्र हवाई सेवा सुचारु हुन सक्ने विमानस्थलका प्रमुख उत्सवराज खरेलले जानकारी दिनुभयो ।
हिजोदेखि वर्षा रोकिए पनि डुबानको क्रममा जम्मा भएको पानीको सहज निकास हुन नसकेका कारण समस्या रहेको उहाँको भनाइ छ । हवाई उडान र अवतरण कहिलेबाट नियमित हुने टुङ्गो नभए पनि मौसम सफा हुँदै गएको तथा विमानस्थलको पानी सुक्दै गए शनिबारदेखि हवाई सेवा सञ्चालन गर्न सकिने बताइएको छ ।
विमानस्थल पूर्ण रूपमा डुबानमा परेपछि गत मङ्गलबारदेखि विराटनगरबाट हुने सबै उडान तथा अवतरण रोकिएका छन् ।
विराटनगर विमानस्थलबाट दैनिक रूपमा काठमाडौँका लागि बुद्ध एयरले नौ, यती एयरलाइन्सले पाँच, सौर्य एयर र श्री एयरलाइन्सले चार–चार र गुण एयरले एकवटा उडान गर्दै आएका थिए । डुबानका कारण दैनिक रूपमा हुने करिब २५ वडा उडान रद्द हुँदा सयौँ यात्रु समस्यामा परेका छन् ।
विराटनगरबाट हुने उडान सेवा अवरुद्ध भएपछि विमान कम्पनीहरूले विराटनगरको विकल्पमा भद्रपुरबाट उडान थपेर सेवा दिइरहेको सौर्य एयरका स्टेसन म्यानेजर प्रकाश पौडेलले जानकारी दिनुभयो ।