घरमाथिबाट पहिरो खस्दा खेलिरहेका दिदी भाईको मृत्यु
सोमबारदेखि अविरल परेको बर्षाका कारण घर पुरिँदा धरानमा दुई बालबालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका– १३ नागेश्वर मार्ग बस्ने निसान राईकी छोरी आठ बर्षीया निसु राई र चार बर्षीय छोरा निहान राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
मङ्गलबार दिउँसो १ः४५ बजे घरमाथिबाट पहिरो खस्दा निसान राईको टिनको छाना भएको एक तले घर पुरिएको छ । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय धरानबाट उद्धारका लागि प्रहरी टोली घटनास्थल पुगेको थियो । पुरिएको सो घरबाट प्रहरीले दिउसो साढे ३ बजे दुई बच्चाको शव निकालेको हो । त्यस्तै सुर्खेत । धानबाली भित्र्याउने बेला पानी परेपछि सुर्खेतका कृषक चिन्तित भएका छन् । दशैं सकिएलगत्तै धान काट्ने योजना बनाएका कृषकलाई समस्यामा परेका हुन् ।
दशैंको बेला धान पाक्ने समय हुने र गाउँमा जनशक्ति पनि धेरै हुने भएकाले धान पाकेको ठाउँमा यही बेला धान काट्ने र भित्र्याउने गरिन्छ । तर, दुई दिनदेखि पानी परेपछि टीका सकिएलगत्तै धान काट्ने कृषकको योजना पूरा हुन पाएन ।
कतिपय ठाउँमा काटेर खेतमै सुकाएको धान पानीले भिजाएको छ भने धान नकाटेको ठाउँमा पनि वर्षाले धानको बोट ढलेको छ । काटेको धान पानी पानीले भिज्दा वर्षभरी खानसमेत समस्या हुने उनीहरूको गुनासो छ ।
मौसमको अवस्था बुझेर मात्रै धान भित्रयाउन कृषि विज्ञको सुझाव छ । मौसमविद्ले आगामी बुधबारसम्म पानी पर्ने बताएका छन् ।