बाढी, पहिरामा परी आठ जनाको मृत्यु
आजमात्रै जिल्लामा आएको बाढी, पहिरामा परी आठ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार बाढी, पहिरामा परी मृत्यु हुनेमा जिल्लाको शिखर नगरपालिका–११ की अन्दाजी ३५÷३६ वर्षीया मन्दरा बलायर, जोरायल गाउँपालिका–३ का अन्दाजी ६२÷६३ वर्षीय जोगी सार्की, सोही गाउँपालिका–४ का अन्दाजी ४२ का शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक, १६ वर्षीय रविन विक रहेका छन् ।
यसैगरी तीन दिनदेखिको लगातारको बर्सात्का कारण जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो गई स्थानीय वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिए उहाँका छोरा १५ वर्षीय सागर र ११ आशिष कुन्जेडाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । उता जिल्लाको सायल गाउँपालिका–१ स्थित छत्रे खोलाले बगाउँदा स्थानीय ७४ वर्षीय वीरे रोकाया बेपत्ता भएको अस्थायी प्रहरी पोष्ट छपालिले जनाएको छ । उहाँको खोजीकार्यका लागि प्रहरी टोली परिचालन भए पनि फेला पार्न सकिएको छैन ।
यसैगरी केआइसिंह गाउँपालिका–४ मा पहिराको जोखिममा परेकाहरु विस्थापित भई गाउँपालिकाको कार्यालय, स्वरोजगारको कार्यालय, प्रहरी चौकी वायल र स्थानीय मन्दिरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी दिपायल सिलगढी नगरपालिका–८ पाङरिमा अन्दाजी १५÷२० घरधुरी परिवार पहिराको जोखिममा परी विस्थापित भई सुरक्षित बासस्थानका लागि स्थानीय दुर्गा आधारभूत विद्यालयमा राखिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।
यो पनि – बाढी, पहिरो, डुबान ः छको मृत्यु, २३ सम्पर्कविहीन
काठमाडौँ, २ कात्तिक (रासस) ः अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मुलुकका विभिन्न जिल्लामा छ जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । गृहमन्त्रालयका अनुसार पहिरामा परेर २३ जना सम्पर्कविहीन भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मृत्यु हुनेमा कालिकोट र डडेलधुराका एक÷एक, सुनसरी र डोटीका दुई÷दुई जना छन् ।
पहिरो खसेर बझाङको थलारा गाउँपालिका–४ मा सात घरका २३ जना सम्पर्कविहीन भएका छन् । सो क्षेत्रमा विद्युत् तथा टेलिफोन सम्पर्कसमेत विच्छेद भएकाले घटनाको यकीन विवरण आउन नसकेको पोखरेलले बताउनुभयो । बझाङका सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमका अनुसार उक्त क्षेत्रमा प्रहरीको टोली घटनास्थलमा गएको भए पनि पुग्न सकेका छैनन् । एक किलोमिटर माथिबाट पहिरो खसेर घर बगाएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । अहिलेसम्म कञ्चनपुरलगायत विभिन्न जिल्लाका ५०० जनाको उद्धार गरिएको छ ।
अहिलेसम्मको प्राप्त विवरणमा बाढी, पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । त्यसमध्ये १५ जिल्लाका अधिकांश राजमार्ग तथा विद्युत् र फोनसेवासमेत अवरुद्ध भएको छ । भौतिक क्षति धेरै भएको जनाइएको छ । महाकाली नदीको खतराको तह सात मिटर रहेकामा झण्डै नौ मिटरमा बगिरहेको जनाइएको छ । मनसुनी वायु प्रणाली बाहिरिएका बेला छुट्टै खालको नयाँ प्रणाली विकास भएर तहसनहस भएको छ । कृषिमा ठूलो असर गरेको प्राधिकरणका प्रमुख पोखरेलले बताउनुभयो ।
आजको मध्यरातपछि भने पूर्वतर्फ सर्दै आइ गण्डकी, लुम्बिनी हुँदै वाग्मतीका दक्षिणी भेग र मध्य क्षेत्रमासमेत प्रभाव पार्ने देखिएको छ । यस्तै प्रदेश १ को उत्तरी भूभाग तथा प्रदेश २ मा समेत वर्षा हुने भएकाले उच्च सतर्कतामा रहन स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशन गरिएको छ ।
गृहमा विपद्को आकस्मिक बैठक
मुलुकको पश्चिम क्षेत्रमा बाढी, पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति भएपछि गृहमन्त्रालयमा आज साँझ विपद् व्यवस्थापनसम्बन्धी आकस्मिक बैठक बसेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले राहत र उद्धारमा तत्कालै परिचालन हुन, विस्थापितलाई अस्थायी आश्रयस्थलमा सुरक्षित साथ राख्न र अवरुद्ध भएका सडक, विद्युत् तथा टेलिफोन सेवा तत्काल सञ्चालन गर्न निर्देशन दिनुभएको छ । बैठकमा कृषि क्षेत्रमा भएको क्षतिलगायत समग्रको विवरण सङ्कलन कार्य तीव्र पार्ने निर्णय पनि गरिएको छ । छलफल विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक छिट्टै गर्ने निर्णय पनि भएको पोखरेलले जानकारी दिनुभयो ।
बैठकमा गृहमन्त्रीले प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टर राख्न निर्देशन दिनुभएको छ । सरकारी हेलिकप्टरले नपुगेमा निजी क्षेत्रको हेलिकप्टर पनि तयारी अवस्थामा राख्न उहाँले निर्देशन दिनुभएको छ । अझै पनि सुदूरपश्चिमका नदीमा पानी बहाव बढिरहेको र अझै पूर्वतर्फ सर्दै गएकाले विशेष ध्यान दिन र उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरी राहत उद्धारमा जुट्न सबै निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ ।