News

महाकालीले भत्कायो कञ्चनपुरको चर्चित ‘भाइरल रोड’

लगातारको वर्षाका कारण महाकाली नदीमा आएको बाढीले कञ्चनपुरस्थित महाकाली नदी किनारमा रहेको ‘भाइरल रोड’ भत्काएको छ । निर्माणकै क्रममा रहेको भुजेलास्थित रोड पछिल्लो समय ‘भाइरल रोड’का नामले चर्चित थियो । सो रोड हेर्न दैनिक सयौँको संख्यामा आन्तरिक पयर्टक त्यहाँ पुग्ने गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेका अनुसार पछिल्लो दुई दिनदेखिको लगातारको वर्षाले रोड कटान गरेको हो । सोही क्षेत्रमा महाकाली नदीमा चार लेन पक्की पुल समेत निर्माण भइरहेको छ । सो क्षेत्रमा समेत क्षति भएको छ ।

नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले महाकालीमा बाढी आउँदा भीमदत्त नगरपालिका–९ खल्लादेखि भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रको तटीय क्षेत्र उच्च जोखिममा रहेको बताए ।

यहाँको खल्ला मसेटी क्षेत्रमा महाकाली नदी गाउँ पसेको खबर आएको प्रहरीले जनाएको छ । उता दोधारा चाँदनीमा रहेको जोगबुढा नदीमा बाढी आउँदा आसपासको क्षेत्र डुबानमा परेको छ । महाकाली नदीमा बिहान ७ बजे गरिएको मापनअनुसार पानीको बहाव यो वर्षकै उच्च रहेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले अहिले पानीको बहाव चार लाख ६१ हजार ७८८ क्युसेक पुगेको जानकारी दिए ।

उनले प्रहरीको विपद् व्यवस्थापन गुल्म, जिल्ला प्रहरी कार्यालयको टोलीसहित तटीय क्षेत्रमा उद्दारमा खटिएको जानकारी दिए । “यहाँ करिब ३०० घर प्रभावित भएका छन् ।” उनले भने, “धेरैलाई सुरक्षित स्थानमा सारिएको छ ।” नेपाली सेना र सशस्त्र प्रहरी पनि बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि जाने तयारीमा छन् । लगातारका वर्षाका कारण कञ्चनपुरको शुक्लाफाँटा, बेदकोट, कृष्णपुर, बेलौरी, पुर्नवास क्षेत्रमा धानबालीमा ठूलो क्षति पुगेको छ । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला र बैतडी क्षेत्रमा भइरहेको अविरल वर्षाका कारण महाकाली नदीमा बाढी आउने क्रम बढिरहेको छ ।

Related Articles

Back to top button