देशका यी स्थानमा आज ठुलो पानी पर्ने, यस्तो छ मौसम पूर्वानुमान
काठमाडौं । मंगलबार देशको अधिकांश भू-भागमा सामान्य बदली रहि देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी परिरहेको छ । यस्तै प्रदेश न १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ठुलो पानी परेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको देखिन्छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश न २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेश र प्रदेश न १ का केही स्थानहरु र प्रदेश न २, लुम्विनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा वागमती प्रदेशका एक दुई स्थानहरुमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।
यस्तै आज राति पनि देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ । प्रदेश १ र लुम्विनी प्रदेशका थोरै स्थानहरू, वागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।