HealthNews

कोरोना महामारी : पशुपतिमा शवको ताँती

काठमाडौं : कोरोनाको दोस्रो लहरले मुलुक आक्रान्त बनेको छ । राजधानीको पशुपति आर्यघाटमा शवको ताँती लागेको छ। शवको ताँतीले कोरोना कति भयावह अवस्थामा पुगेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ।

पछिल्लो समय पशुपतिमा दैनिक ७५ देखि ८० वटा लाश आउने गरेको छ। पहिले विद्युतीय शवदाहगृहमा मात्र जलाउँदै आइएको लाश अहिले बागमती किनारमा पनि ३० वटा चिता बनाएर जलाउन थालिएको पशुपति क्षेत्र विकास कोषअन्तर्गत शवदाह गृहका प्रमुख सुवास कार्कीले बताए । ‘दैनिक ७५–८० वटा शव आउँदा मेसिनले मात्रै धान्दैन।

एउटा शव जलाउन करिब डेढ घण्टा लाग्छ। शव एकैचोटी ५–६ देखि १५ वटा आउने गर्छ। त्यहाँमाथि भएन तीन–चारवटा गाडी एकैचोटी आउँछ’, कार्कीले भने, ‘हामीले व्यवस्थापन त गर्नुपर्‍यो अरू चिता बनाएर।

अस्ति ८२ वटा शव आएका थिए हिजो ७५ वटा आए। आज करिब ७९ वटाका लागि खबर आइसक्यो। यत्रो शव दुइटा मेसिनले मात्रै कसरी जलाउन सक्नू ?’ 

विद्युतीय शवदाहगृहले नधानेपछि बागमती किनारमा पनि शव जलाउन थालिएको हो। उपत्यकामा कोभिडबाट मुत्यु भएका शवलाई नेपाली सेनाले पशुपतिस्थित विद्युतीय शव दाह गृहमा व्यवस्थापन गर्दै आएको थियो। (अन्नपूर्ण पोस्ट बाट)

Related Articles

Back to top button