ह्वात्तै घट्यो कुखुराको मासुको मूल्य
निषेधाज्ञा लागू गरेसँगै बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ ।
करिब एक हप्ता अघिसम्म हालसम्म कै उच्च मूल्यमा बिक्री भएको कुखुराको मासु अहिले दैनिक रुपमा घट्दै गएको छ । विगतको दिनमा व्यवसायीहरूले प्रतिकेजी ४ सय ५० रुपैयाँ बिक्री गरिरहेको कुखुराको मूल्य निषेधाज्ञा लागू भएसँगै मूल्य घटेको व्यवसायीहरू बताउँछन् ।
विगतको दिनमा व्यवसायीहरूले चल्ला उत्पादन गर्ने प्यारेन्ट (माउ) को अभावले बजारमा कुखुराको उत्पादन घट्न थालेपछि कुखुराको मूल्य बढेको बताएका थिए । चिसो मौसममा उत्पादन कम भई कुखुराको मासुको मूल्य कम हुने र गर्मी भएपश्चात विस्तारै उत्पादन बढ्न गई बजारमा मासुको मूल्य घट्ने सर्वसाधारणहरूको भनाइ थियो ।
तर, गर्मी मौसम शुरु भए पनि बजारमा कुखुराको मासुको मूल्य घट्न सकेको थिएन । साथै, बजारमा उच्च मूल्यमा बिक्री गरेको भन्दै उपभोक्ताहरुले गुनासो गर्दै आएका थिए । करिब एक हप्तासम्ममा प्रतिकेजी ४ सय ३० देखि ४ सय ५० रुपैयाँसम्म बिक्री गर्दै आएको कुखुराको मूल्य निषेधाज्ञा लागू भएपछि खपतसँगै कुखुराको मूल्य घटेको नेपाल ह्याचरी संघका अध्यक्ष टिकारम पोखरेल बताउँछन् ।
उनका अनुसार विगतको दिनमा प्यारेन्ट चल्ला उत्पादन गर्ने प्यारेन्ट आयात गर्न नसक्दा बजारमा कुखुराको उत्पादन कम हुन गई मूल्य बढेको थियो । तर, अहिले जति पनि उत्पादन भएका कुखुराको मासु खपत हुन नसक्दा प्रत्यक्ष असरमा मूल्यमा परेको बताए । एक हप्ता अघिसम्म प्रति केजी ४ सय ५० रुपैयाँसम्म बिक्री भएको कुखुराको मासुको मूल्य निषेधाज्ञा पछि निरन्तर ओरोलो लागेर अहिले प्रतिकेजी ३ सय ७० रुपैयाँ देखि ३ सय ९० रुपैयाँसम्म बिक्री गरिरहेका छन् ।
देशभर दैनिक ५ लाख केजी खपत हुने गर्दछ । सरकारले निषेधाज्ञा लागु गरेसँगै बजारमा ५० प्रतिशत पनि खपत हुन सकेको छैन । यसले गर्दा उत्पादित कुखुरा बिक्री गर्नकै लागि सस्तोमा बिक्री गर्दै आएका छन्,’ उनले भने ।
त्यस्तै, कुखुराको मासुको मूल्य घट्नुको मुख्य कारण निषेधाज्ञा रहेको ह्याचरी संघ तथा पोल्ट्री संघका अध्यक्ष गुण चन्द्र बिष्ट बताउँछन् । हाल बजारमा पर्याप्त मात्रामा कुखुरा उत्पादन नभए पनि उक्त उत्पादित कुखुरा नै खपत नभएपछि मूल्य घटेको उनले बताए ।
साथै, पछिल्लो समय कुखुरा उत्पादक गर्ने व्यवसायीहरूले चल्ला नष्ट गर्दै आएको बताए । उनका अनुसार कुखुरालाई लागि आवश्यक दाना महंगो र निषेधाज्ञा अनिश्चित भएकाले व्यवसायीहरूले चल्ला नष्ट गरेको बताए ।
त्यसैगरी, निषेधाज्ञा अझै लम्बिए घट्न सक्ने व्यवसायीहरूको अनुमान छ । ‘बजारमा उत्पादन कम भएपनि खपत हुन सकेको छैन । सरकारले तोकेको भन्दा अझै निषेधाज्ञा लागु भएमा अझै घट्न सक्छ,’ ह्याचरी संघका अध्यक्ष पोखरेलले भने ।
अण्डाको मूल्य हालसम्मकै उच्च
अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ ।
नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार आजदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ३७० र मिडियमको रु ३४० पुगेको छ । यसअघिको मूल्यमा प्रतिक्रेट रु ३० वृद्धि गरिएको हो । ओलीको भनाइमा चार वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट रु ३६५ पुगेको थियो । यसै वर्ष दुई महिनाअघि पनि प्रतिक्रेट अण्डाको मूल्य रु ३६० पुगेकामा केही दिनपछि घटेको थियो ।
एच ९ र रानीखेत रोगका कारण झन्डै २५ प्रतिशत कुखुरा मरेको किसान बताउँछन् । ओलीका अनुसार दैनिक २४ लाख अण्डा उत्पादन हुँदै आएकामा रोगका कारण घटेर १७ लाख हाराहारीमा झरेको छ । अण्डाको उत्पादनमा कमी आएका कारण मूल्य बढ्दासमेत लाभान्वित हुन नसकेको उनको भनाइ छ ।
सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले सरकारले अण्डाको लागत मूल्य रु ११.५३ तय गरे पनि हाल लागत मूल्य बढेका कारण रु १२.३३ हाराहारी अर्थात् अहिलेको वृद्धि मूल्य बराबर पर्न जाने बताउँछन् । दानाको कच्चापदार्थको मूल्य अत्यधिक बढेपछि अण्डाको मूल्य बढेर पनि लाभ लिने अवस्थामा किसान नरहेको केसीको भनाइ छ ।
नेपाल दाना उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शङ्कर कँडेल यसअघि प्रतिकिलो रु ६४ मा आउने सामान्य भटमासको मूल्य बढेर रु १०८ पुगेको छ । त्यसै गरी हाइप्रो भटमास प्रतिकेजी रु ७० बाट बढेर रु ११५ पुगेको छ । तोरी, सूर्यमुखीलगायतको पिना प्रतिकिलो रु सातले बढेको भन्दै उनले दानामा प्रयोग गरिने भिटामिनलगायतका सामग्रीमा शतप्रतिशतसम्म मूल्य बढेको जानकारी दिए ।
यससँगै ढुवानीमा समेत मूल्य बढेको कँडेलको भनाइ छ । लागत मूल्यका आधारमा दानाको मूल्य धेरै बढ्ने भए पनि किसानले धान्न मुस्किल हुने भएकाले पटक पटक गरी रु सात प्रतिकिलो मात्रै मूल्य बढेको उनको भनाइ छ । हाल लेयर्स दानाको मूल्य सरदर रु ६० प्रति