विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गम्भीर प्रकृतिका कोरोना सङ्क्रमितका लागि घर–घर अक्सिजन पुर्याउन थालेका छन् । बजारमा अक्सिजन पाउन गाह्रो छ । अक्सिजन नपाएका सङ्क्रमितका लागि मेयरले सिलिन्डर बोकेर घर–घर पुर्याउन थालेका हुन् ।
‘मेरो गाडीमा अक्सिजन पिपिईलगायत स्वास्थ्य सामग्री भइरहन्छ,’ उनले भने, ‘जनताले फोन गर्छन्, अति आवश्यक रहेछ भने घरसम्म पुर्याइदिन्छु ।’
बजारमा अक्सिजन सिलिन्डर कम भएका कारण नपाएपछि सर्वसाधारणले आफूलाई फोन गर्ने उनले बताए । ‘सङ्क्रमितको व्यवस्थापनमा महानगरपालिकाले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको छ,’ उनले भने, ‘हाम्रो स्वास्थ्यकर्मी र जनप्रतिनिधिको टिम परिचालन भएको छ, जनताले बोलाएको ठाउँमा पुग्छु ।’
कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था बुझेर मात्रै अक्सिजन दिइने गरेको उनले बताए । ‘स्वास्थ्यकर्मीको टिमले अक्सिजन लेभलको जाँच गर्छ, आवश्यक छ भने हामी पुग्छौँ,’ उनले भने, ‘हामीसँगै हुने स्वास्थ्यकर्मीले अक्सिजन जोडिदिन्छन् ।’
आफू राति पनि अक्सिजन पुर्याउन खटिएको उनले बताए । ‘जनतालाई ग्राह्रो भएको जानकारी पाउँदा राति पनि पुग्छु, अस्ति राति ११ बजे सरौँचिया पुगेँ,’ उनले भने, ‘मेरो टिमलाई २४ सै घण्टा सक्रिय हुनुपर्छ भनेको छु ।’
विराटनगर महानगरपालिकामा दैनिक दुई सयभन्दा बढीलाई कोरोना सङ्क्रमण देखिरहेको छ । सोमबारसम्म सङ्क्रमितको सङ्ख्या एक हजार तीन सय ५७ पुगेको छ ।